जोडिनुहोस
  • होमपेज
  • खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले सडक निर्माण भएपछि स्थानीयवासीमा खुसीयाली छाएको बताउनुभयो । “बस र जीप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । मुनाबाट लमसुङसम्मको सात किलोमिटर दूरीको सडकमा यातायात सञ्चालन हुन थालेका र लमसुङबाट लुलाङ हँुदै गुर्जा जोड्ने सडकको एक किलोमिटरभन्दा बढी मार्ग खोलिसकिएको छ । मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा खनिएको सडक स्तरोन्नति भएपछि गत हप्तादेखि यातायातका साधन चल्न थालेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भिरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो । सो ठाउँमा सडक ढलानको काम थालिएको छ ।

गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेको थिएन । महतलामा तीन वर्षअघि सडक पुगेको थियो । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङबाट लुलाङ हँुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका