जोडिनुहोस
  • होमपेज
  • के के कुरा भयो श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री बीचको भेटवार्तामा

के के कुरा भयो श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री बीचको भेटवार्तामा

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता भएको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो । बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र नविकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमीकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताए ।

उनले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताए ।

उनले भने, ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको बताए । त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताए ।

उनले कामदारहरुका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताए ।

उनले भने, ‘नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएका छन् । जसमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा छन् भने ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ । हामीले आजको बैठकमा मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिका बारेमा छलफल गरेका छौँ । हामीले  कामदारअनुकुलको नीति निर्माण गरिरहेका छौँ ।

यसको छिटै नै हामी नीति निर्माण गर्दैछौँ । कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका