जोडिनुहोस
  • होमपेज
  • उर्लाबारीको नवौं नगरसभा सम्पन्न, ‘स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी’ बनाउने अठोट

उर्लाबारीको नवौं नगरसभा सम्पन्न, ‘स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी’ बनाउने अठोट

उर्लाबारी नगरपालिकाले पाँच वर्षे गुरुयोजना तयार पारेर उर्लाबारीलाई समृद्ध नगर बनाउने योजना अघि बढाएको छ । नगरसभाले उर्लाबारी नगरपालिकाको दीर्घकालीन सोचका रुपमा ‘स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी’ नारा तय गरेको छ ।

नगरसभाका निर्णय सार्वजनिक गर्न बिहिवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता भीष्मराज बुढाथोकीले जारी गरेको प्रेस विज्ञप्तीमा नगरसभाले ४ विधेयकहरु पारित गर्याे । जसमा स्थानीय वन विधेयक, दिशाजन्य लेदो व्यावस्थापन विधेयक, आर्थिक विधेयक र विनियोजन विधेयक रहेका छन् ।

यस्तै, नगरसभाले आर्थिक वर्ष २०७९/८० सम्ममा समापन गर्ने गरी ३५ वटा योजना समावेश गराएको छ भने आर्थिक वर्ष २०७९/८० लागि तयार पारिएका तर विविध कारणले रोकिएका ६२ वटा योजनालाई शीर्षक संशोधन गरी साविककै विनियोजित बजेटबाट सञ्चालन गर्ने निणर्य गरेको छ ।

नगरसभाले नगर न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यावस्थापन र सुशासन तथा संस्थागत विकास समितिका प्रतिवेदनलाई समेत अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को स्थानीय मावा खोला ठेक्का वापतको रु. १ करोड ५० हजार ५ सय ७ रुपैँयामा मलेपको प्रारम्भिक र प्रतिवेदनको बुदा नं. ४२.१ मा उल्लेख भएको बेरुजुका सम्बन्धमा पनि स्थलगत अनुगमन गरी प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए अनुसारको राजश्वमा कुनै हानी नोक्सानी नदेखिएकाले उक्त बेरुजु रकम फर्यौट गर्ने निर्णय भएको जनाइएको छ ।

यस्तै पालिकाको स्वीकृत संगठन संरचना र दरबन्दी संशोधन गरी अध्यावधिक गर्न साविकको १ सय ४५ दरवन्दीलाई वृद्धि गरी १ सय ८३ पुर्‍याइएको नगरपालिकाले जनाएको छ । यसैगरी उर्लाबारी नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौतिक विकासका लागि ५ वर्षे आवधिक योजना बनाई स्वीकृत गर्ने निर्णय सभाले पास गरेको छ ।

२०७३ सालमा उर्लाबारी नगरपालिका घोषणा हुँदा साविक मधुमल्ला गाउँ विकास समितिको ७, ८ र ९ नम्वर वडा समायोजित हुँदा सो वडाभित्र रहेका सामुदायिक वनहरुले चर्चेका भु-भाग र साविक उर्लाबारी गाउँ विकास समितिको स्थापना कालदेखि भोगचलनमा रहेका सामुदायिक वनहरु, सिमसार क्षेत्रहरु नक्सामा पालिकाको नक्सामा छुटेका कारण ती क्षेत्रहरुलाई नक्सामा समावेश गराउन पालिकाको नक्सा संशोधन गरी प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने निर्णय र सार्वजनिक, ऐलानी र पर्ती जग्गाहरुको पहिचान गरी नगरपालिका मातहत ल्याउने निर्णय सभाले पारित गरेको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।

यस्तै, प्राविधिक कारणले रद्द भएका उर्लाबारी–१ स्वास्थ्य कार्यालय हुँदै मिक्लाजुङ जाने कालोपत्रे बाटो निर्माणका लागि ३० लाख, उर्लाबारी-६ को होलीचाइल्ड मार्ग कालोपत्रेका लागि ३५ लाख, २९ हजार ४ सय १० र उर्लाबारी-७ को मावापुल दक्षिण कालोपत्रेका लागि १० लाख ५२ हजार बराबरको ३ वटा बाटोहरु कालोपत्रे गर्ने निर्णयसहित १६ वटा निर्णय पास भएको नगर प्रमुख खरेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका