जोडिनुहोस
  • होमपेज
  • मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद‚ पीडितलाई ७५ हजार क्षतिपूर्ति

मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद‚ पीडितलाई ७५ हजार क्षतिपूर्ति

काठमाडौँ ।सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  । जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा पाण्डेलाई ६ महिना कैद, पीडित युवतीलाई ५० हजार क्षतिपूर्ति र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । मुलुकी अपराध संहिताको दफा २२५ मा बालयौन दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था भएकाले कसुर ठहर भएकै दिन पाण्डेलाई सजाय सुनाइएको थियो ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

पाण्डेले आफूलाई पटक–पटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन् । आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनलाई न्याय प्राप्तिका लागि हदम्याद तगारो बनेपछि प्रेस, सडक र संसद्मा समेत बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि उत्पन्न परिस्थितिले व्यवस्थापिकालाई हदम्यादसम्बन्धी कानुन बदल्न बाध्य पारेको हो ।

बलात्कार मुद्दा दर्ता गर्नका लागि हदम्याद बाधक भएपछि गत असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । कुनै पनि व्यक्तिलाई शोषण गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने कार्यलाई नेपालको कानुनले मानव बेचबिखनको परिभाषामा समेटेको छ । ती युवतीलाई सुरुमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी विभिन्न ठाउँमा पुर्‍याएर निरन्तर शोषण गरेको कार्य मानव बेचबिखनअन्तर्गत पर्ने जिल्ला अदालतले मंगलबार ठहर गरेको हो ।

पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका