जोडिनुहोस
  • होमपेज
  • उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी

उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो ।

विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ किसिमका ट्राफिक बत्ती जडान गर्न छलफल गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

उनका अनुसार विभागले त्यसका लागि मूल्याङ्कन गरेर डिजाइन तयार गरिसकेको छ । उनले भने, “छिट्टै नै खरिद प्रक्रियामा जाने योजना रहेको छ ।” नयाँ प्रणालीमा एउटा कन्ट्रोल रुममा बसेर आवश्यकताअनुसार कुन बत्तीको समय बढाउने कुनको घटाउने भनी गर्न सकिने महानिर्देशक थापाले बताए । हाल सञ्चालनमा रहेका बत्तीमा ट्राफिक प्रहरीले समय परिवर्तन गर्न मिल्दैन । उनले भने, “एउटा दिशाबाट धेरै गाडी आयो भने ट्राफिक प्रहरीले परिवर्तन गर्न सक्दैन, ट्राफिक प्रहरीले अप्ठ्यारो हुँदा बन्द नै गर्दै आउनुभएको छ ।”

काठमाडौँका सडकमा जडान भएका ट्राफिक बत्तीको प्रणाली अहिले बजारमा नपाउने हुँदा नयाँ जडान गर्न आवश्यक रहेको विभागले जनाएको छ । झण्डै १० चोकमा ट्राफिक बत्तीमा समस्या आएको र मर्मतका लागि आवश्यक सामग्री नपाइएपछि मिल्ने किसिमका अरु सामग्री राखेर चालू गरिएको उनले बताए । अहिले छुट्टाछुट्टै व्यवस्था गर्ने प्रणाली (आइसोलेटेड कन्ट्रोल सिस्टम) हुँदा माइतीघरको कन्ट्रोलबाटै र सिंहदरबार अगाडिको नियन्त्रण त्यहीँबाट गर्नुपरेकाले समस्या रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पाँच÷१० वर्षमा नयाँ प्रणली आउने हुँदा विभागले पनि नयाँनयाँ ल्याउन आवश्यक रहेको महानिर्देशक थापाले बताए ।

सडक विभागबाहेक अरु निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएको विभागले जनाएको छ । उपत्यकाका पालिका र वडा कार्यालयले पनि आश्यकताका आधारमा बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ । चालू आवमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको थियो । उपत्यका बाहिर भने थोरै सहरमा मात्रै ट्राफिक बत्ती रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका