जोडिनुहोस
  • होमपेज
  • दाताको भरमा आश्रम सञ्चालन

देश

दाताको भरमा आश्रम सञ्चालन

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन २, २०७९
दाताको भरमा आश्रम सञ्चालन

दमौली – तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा ९ वृद्धवृद्धाले सहारा पाइरहेका छन् ।

२०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासंघ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासंघ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिए।

जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ, उनले भने । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्छन्। आश्रममा ८ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आएका छन्।

आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन, ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ, उनले भने ।

आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा संघसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउँछन् ।

व्यास नगरपालिका–५ चापाघाटमा २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।

आश्रममा हाल ३ जनाले आश्रय लिइरहेका छन्। आश्रम सञ्चालनका लागि मासिक करिब ३५-४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।

दाताको सहयोग विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिइन्। व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन उनले भने ।

विभिन्न पेसा व्यवसायमा आबद्ध महिला संगठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उनले बताए। ३ जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य संख्या ३३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ ।

स्थापनाकालमा ३० महिलाले १-१ हजार उठाएर ३० हजारको अक्षयकोष स्थापना गरेका थिए । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा संघसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिइन्।

देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न संघसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ, दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ, उनले भनिन् ।

उनका अनुसार आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । २०७२ मा आयोजना गरिएको महायज्ञबाट संकलन भएको रकमले २ रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।

रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका