जोडिनुहोस
  • होमपेज
  • विज्ञान प्रविधिबिना विकास र समृद्धि असम्भव : मन्त्री शर्मा

विज्ञान प्रविधिबिना विकास र समृद्धि असम्भव : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक अझै पनि प्रविधिको क्षेत्रमा पछाडि रहेको बताएकी छन् । बाँके नेपालगन्जको रंगशालामा मंगलबार सुरु भएको हिमालयन साइन्स फेस्टिबलको दोस्रो संस्करण उद्घाटन गर्दै मन्त्री शर्माले अहिलेको युग प्रविधि युग भएकोले विज्ञान प्रविधिबिना विकास र समृद्धि सम्भव नहुने बताइन् ।

 

मन्त्री शर्माले मोबाइल एपबाट बत्ति बालेर कार्यक्रम उद्घाटन् गरिन् । ‘मैले सुनिरहेको छु । पानीबाट गाडी चल्ने अभ्यास भइरहेको छ । हाम्रो जुन खालको दिमाग, क्षमता र योग्यता छ, त्यो राज्यले सही ढंगले सम्बोधन गर्न सकेको छैन,’ मन्त्री शर्माले भनिन् ,‘सानो सानो काम गर्न विशिष्ट खालको सफ्टवेयर बनाउन पनि विदेशको भर पर्नुपर्ने । हाम्रो देशमा त्यो खालको सफ्टवेयर बन्ने डाटाहरु राख्ने अवस्था छैन । प्रविधिसँग प्रतिस्पर्धा गर्न सकेनौं भने हामी संसारसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । ’ उनका अनुसार विज्ञान र प्रविधिमा लागेका युवा शक्तिको क्षमता प्रतिभालाई देशमा कसरी प्रयोग गर्ने विषयमा कार्यक्रम बनाएर लाग्न जरुरी छ ।

कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले यस्ता कार्यक्रमले विज्ञान तथा प्रविधितर्फ उन्मुख गराउन सहयोग गरेको बताइन् । ‘यस फेस्टिबलले विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै खोज र अनुसन्धानमा सक्रिय बनाउन प्रेरित गरेको छ,’ उनले भनिन्, ‘यसले शिक्षकहरुलाई पनि सैद्धान्तिकमात्रै नभई विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन अभिप्रेरित गराउने छ ।’

हिमालयन साइन्स फाउन्डेशनले आयोजना गरेको फेस्टिबलले विद्यालयस्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजबारे उत्प्रेरणा जगाउने अपेक्षा आयोजकको छ । सातै प्रदेशमा फेस्टिबल आयोजना गरिने आयोजकले जनाएको छ । फेस्टिबलमा करिब ५० वटा स्टल राखिएका छन् । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाइप’ प्रोजेक्टहरु प्रदर्शनीमा छन् । सहभागीहरुले विभिन्न ९ विधामा आफ्नो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।

फेस्टिबलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पूर्वसफ्टवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको (नास्ट)का सिनियर साइनटिस्ट टिस्टा प्रसाईं जोशी निर्णायक रहेको हिमालयन फाउन्डेशनका अध्यक्ष आतंक बस्नेतले बताए । ‘विज्ञान र प्रविधिका क्षेत्रमा नौलो बहस छेड्नु र त्यसमार्फत विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउनु हाम्रो मुख्य एजेन्डा हो । यसका लागि यो कार्यक्रम एक कोसेढुंगा साबित हुनेछ । साथै कार्यक्रममार्फत विद्यार्थी र शिक्षकहरुमा विज्ञानको भोक जगाउने विश्वास लिएका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका