जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको आयुबारे कसरी मिल्यो गगन र ओलीको धारणा ?

गठबन्धनको आयुबारे कसरी मिल्यो गगन र ओलीको धारणा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पछिल्ला केहीदिनयता मौनजस्तै देखिएका थिए । तर सोमबार रुपन्देही पुगेका थापाले अहिलेको सत्ता गठबन्धन फागुन १० गतेभित्र भत्किने उद्घोष गरे ।

महामन्त्री थापाले यस्तो उद्घोष गर्नुअघि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वालुवाटारमा भेटवार्ता गरेको बताइन्छ । यसैसाता महामन्त्री थापाले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको बताइन्छ । भेटवार्तामा भएको कुराकानीबारे औपचारिक रुपमा न नेता थापाले बोलेका छन् न प्रधानमन्त्री दाहालले नै ।

त्यसोत महामन्त्री थापाले यसअघि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अनौपचारिक छलफल गर्ने गरेका थिए । तर अहिले भने सार्वजनिक कार्यक्रममा मात्रै नभएर मिडियासँग पनि धेरै नबोलेका थापाले सोमबार रुपन्देहीमा सार्वजनिक गरेको धारणाले राजनीतिक तरंगित बनेको छ । थापाले फागुन १० गतेको निश्चित समयसिमै तोकेर गठबन्धनको आयु सार्वजनिक गर्नुको पछाडि कुनै खास कारण हुनसक्ने समेत देखिएको छ ।

थापाले प्रतिक्रिया दिएको अर्को दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत थापाकै भनाईसँग मेल खाने धारणा सार्वजनिक गरेका छन् । एमालेको भातृ संगठन अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्किने संकेत गरेका छन् ।

‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,’ उनले प्रश्न गर्दै भने, ‘संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले यस्तो धारणा सार्वजनिक गरेपछि सत्तारुढ दलभित्रको विवाद छताछुल्ल हुने अबस्थामा पुगेको बुझ्न कठिन छैन । माओवादी आन्दोलनको खरो आलोचक रहेका ओली अहिले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसका दिनमा सार्वजनिक विदा दिने निर्णय गर्दा समेत चुप लागेर बस्न बाध्य छन् ।

फागुन २५ गतेका लागि निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति घोषणा गरेको र एमाले उम्मेदवारलाई विजयी बनाउने रणनीतिमा रहेका ओली त्यतिञ्जेलसम्म प्रचण्डको हरेक अडान स्वीकार गर्न तयार देखिएका छन् । तर एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने माओवादीको रणनीति बुझेका ओली अहिले भने गठबन्धन भत्किने संकेत दिन शुरु गरेका छन् । अध्यक्ष ओलीको यस्तो धारणाले यसैसाताको अन्त्यसम्म कुनै राजनीतिक परिवर्तन आउनसक्ने आँकलन भने शुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका