जोडिनुहोस
  • होमपेज
  • आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी नोभेम्वरपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सिटीले शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । ताकेहिरो तोमियासुको ब्याक पास लिन गोलरक्षक आरोन राम्सडाले अघि बढेको अवस्थामा नभेट्दै ब्रुएनाले पेनाल्टी बक्सबाहिरबाट खाली पोस्टमा गोल गर्न सफल भए ।

४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् ।

७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए ।

आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । २२ जनवरीमा म्यानचेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेयता आर्सनलले चार खेल खेल्दा जित निकाल्न सकेको छैन । जसमा ३ हार र एक बराबरीको नतिजा छ । जुन एक एफए कप तथा तीन प्रिमियर लिगको खेल हो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा पछि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका