जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बुधबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन्।

सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाउने बताएका थिए। राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहने जानकारी गराएका थिए।

राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन्। चिनियाँ राजदूत छन सोङ पनि दलका शीर्ष नेतासँग भेटघाटमा सक्रिय बनेका हुन्।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। धेरैले क्वात्रा राष्ट्रपति निर्वाचनका लागि भारतीय संस्थापन पक्षको सन्देश लिएर आएको विश्लेषण गरेका छन्।

अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टारिया नुल्यान्ड, राष्ट्रिय सुरक्षापरिषद्मा रहेकी मन्त्रीस्तरकै यूएसएडकी प्रशासक समान्था पावर, दक्षिण तथा मध्यएसियाली मामिला हर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरलगायतका नेपाल आएका छन्। शक्ति राष्ट्र पनि आफू अनुकूलको राष्ट्रपति बनाउन दौडधुप गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका