जोडिनुहोस
  • होमपेज
  • ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओली असन्तुष्ट

‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओली असन्तुष्ट

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्यो ? भनि प्रश्न समेत गरे । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए ।

ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुराचाहिँ सही होइन । सरकारले किन त्यो गर्यो ? आकस्मिक रुपमा त्यो किन गर्नुपर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झि सम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’

त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए । नेपाली जनतामा परस्परमा लडने÷लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उनको भनाई थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका