जोडिनुहोस
  • होमपेज
  • काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको ओलीको दाबी

काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको ओलीको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । उनले आठ दलबीच राष्ट्रपतिमा काँग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर समेत गरे ।

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए । उनले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए ।

उनले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरूको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्त्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रूपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रूपमा उठाएका छौँ । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौँ । र, उम्मेदवार दर्ताको निस्सा पनि हामीले बुझाएका छौँ । मैले विश्वास लिएको छु पार्टीको तर्फबाट–हामीले आफ्नो दलीय स्वार्थ होइन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवर्द्धनका लागि यो उम्मेदवारी उठाएका हौँ । हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन । स्वागतको विषय बन्नेछ । र, हरेकले, हरेक मतदाताले र मतदाताका निम्ति मतदानका निम्ति प्रेरित गर्ने मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट पनि हामीले साथ, सहयोग प्राप्त गर्नेछौँ । सिङ्गै नेपाली जनताको साथ, सहयोग हामीलाई हुनेछ । र, अत्यधिक मतका साथ हामीले विजय हासिल गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु । किनभने यसमा हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेचको उम्मेदवार होइन । एक त यो वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुङ्गो लागि सकेको थियो । त्यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिबद्ध भएर लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । आफ्ना प्रतिविद्धताबाट, आफ्ना बचनबद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरूबाट कोही पनि पछि हटने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ । कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिबद्धता छ, जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौँ । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दला साथीहरूलाई बोलाइएको थियो । उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ । कुराकानी भइराखेको छ । हामीलाई पनि बोलाइएको थियो । गएका हौँ । र, काँग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नु भयो । कसरी भन्नु भयो ? त्यो उहाँको कुरा हो । अरुको त्यस्तो कुरा केही छैन । सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन ।’

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिङ्गै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका