जोडिनुहोस
  • होमपेज
  • विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँः प्रधानमन्त्री

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

मङ्गलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुरु गर्ने विषयमा कानुन बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठुलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।

‘हामीलाई पूर्वाधार विकास गर्न ठुलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुने गरी वातावरण बनाउन प्रतिबद्ध रहेको छ’, उनले भने, ‘पछिल्लो समयमा चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरूलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो । ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ । दुई देशबीचको व्यावसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरूले दुई देशबीचको व्यवसायलाई प्रवर्द्धन गर्न त्यत्तिकै भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ । ’

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत साङले नेपालीहरूलाई चीन भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल सुरु भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो । बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका