जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित

काठमाडौं । फ्रेन्ड्स क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार १० खेलाडीमा सिमित जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गरे । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले बचाएपछि आएको रिबाउन्ड बलमा राफिकले गोल गरे ।

खेलको ४० औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए । लक्ष्मण रुचालको क्रसमा उनले वान टच गोल गरे । त्यसपछि खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरेपनि फ्रेन्ड्स २-१ ले विजयी भयो ।

फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो । त्यसबाहेक दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो मिनेटमा फ्रेन्ड्सका टोरिक जेब्रिनले प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरिएको थियो । खेलको २२ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको पासमा एन्कोटो मोसाबीले गोलकिपरसँगको वान भर्सेस वानको अवस्थामा फितलो प्रहार गरे ।

२४ औं मिनेटमा जावलाखेलका एनकोटो मोसाबीले प्रहार गरेको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाउ गरे । २७ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापाले सहजै रोके ।

खेलको ७५ औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबुले बचाए ।

खेलको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटियो । कप्तान सिमान्त थापाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो ।

फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए । यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ ।

जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका