जोडिनुहोस
  • होमपेज
  • मौन अवधिमा दलहरुले बैठक राखेर उपराष्ट्रपतिबारे निर्णयपछि बोल्यो आयोग

मौन अवधिमा दलहरुले बैठक राखेर उपराष्ट्रपतिबारे निर्णयपछि बोल्यो आयोग

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनको मौन अवधिमा दलहरु सलबलाएपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलहरुले बैठक बसेपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले यस्तो नगर्न सचेत समेत गराएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्क्रिया, सभा गर्न नपाइने उल्लेख छ ।

यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका