जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीले जनही ३ लाख पाउने

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीले जनही ३ लाख पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ,’ खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले खेलाडीले मात्र नभई देशले जितेको उल्लेख गर्दै टोलीलाई आगामी खेलका लागि शुभकामना दिए ।

‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले थपे ।

प्रधानमन्त्री प्रचण्डले टियु क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् ।

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले थपे, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका