जोडिनुहोस
  • होमपेज
  • शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्छ : सभापति देउवा

शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र संसदबाट नेपाली जनताले धेरै अपेक्षा राखेका बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा आजको आवश्यकता हो । संविधानको सार्थक कार्यान्वयनका लागि धेरै नीति र कानुन निर्माण गर्नु छ । देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वव्यापी कोभिडको महामारी लगायतका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यस क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी छ ।’

अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिबद्धताको आवश्यकता देउवाले औँल्याए । शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न अगाडि बढेको कानुन संशोधनको प्रक्रियालाई सङ्घीय संसद्मा रहेका सबैले आपसी सहमतिका साथ निष्कर्षमा पुर्‍याउनुपर्ने देउवाले बताए । छिमेकी देश र मित्र राष्ट्रहरूसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा देउवाको जोड छ ।

उनले भने, ‘श्रमिक, किसान र गरिब जनताका समस्या समाधानका लागि काम गर्नु छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारबाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनुपर्दछ ।’

देशका कतिपय राष्ट्रिय सरोकारका विषयमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘महत्त्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु पर्दछ भन्ने नेपाली काँग्रेसको दृढ मत छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसले हिजोका दिनमा तत्काल देशका सामु विद्यमान जटिल चुनौतीको सामना गर्न संवाद, सहमति र सहकार्यमा जोड दिएको इतिहास छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका