जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा माओवादीले आज सरकार छोड्दै

गण्डकीमा माओवादीले आज सरकार छोड्दै

काठमाडौं— गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।

अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

“निर्देशन आइसक्यो, अब सरकारमा बसिरहने कुरा भएन । शुक्रबार दलको बैठक बसेर बाहिरिन्छौँ,” चुमानले भने । उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहेका छन् । राजधानीमा रहेका शुक्रबार नै पोखरा फर्किने र माओवादीसँग मन्त्रालयको भागबण्डाको बारेमा छलफल गर्ने स्रोतले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका