जोडिनुहोस
  • होमपेज
  • वर्षेनी २० हजार नेपाली भिजिटर बनेर अमेरिका पुग्छन्

वर्षेनी २० हजार नेपाली भिजिटर बनेर अमेरिका पुग्छन्

काठमाडौं । आर्थिक मन्दी, बेरोजगारीको समस्या, उच्च अध्ययन तथा छिट्टै धेरै पैसा कमाउने लोभमा अहिले दैनिक हजारौं नेपाली विदेशिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को हेर्ने हो भने अब यो देशमा को बस्ला र भन्ने लाग्छ । अहिले हरेक महिना विदेश उड्ने नेपालीको संख्या ६० देखि ७० हजार पुग्ने गरेको छ । विगतमा दैनिक १५ सय नेपाली बाहिरिने गरेकोमा अहिले यो संख्या बढेर ३५ सयसम्म पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।

त्यसमा पनि धेरैजसो रोजगारीका लागि खाडी देश जाने पर्छन् । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि जाने भनेर मानव तस्करी भइरहेको छ । अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च अध्ययनका लागि विद्यार्थी पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सी मोटाइरहेका छन् । प्रतिविद्यार्थी १५ देखि २० लाख लिने गरेकाले उनीहरूको कमाईमा उछाल छ । त्यस्तै, भिजिट भिसामा अमेरिका, बेलायत, युएई जानेको संख्या पनि बढेको बढ्यै छ ।

नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गत आर्थिक वर्ष २०२२ मा झन्डै ४७ करोड नेपाली रुपैयाँ आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकअनुसार पछिल्लो विनिमयदरले हिसाव गर्दा आम्दानी झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको देखिएको हो ।

अमेरिकी दूतावास काठमाडौंले कतिपय सेवाका लागि १ डलर बराबर १३५ नेपाली रुपैयाँसमेत लिने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको तथ्यांक हिसाब गर्दा आव २०२२ मा झन्डै २२ हजार सात सय २९ जना नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । आव २०२१ को तुलनामा २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या दोब्बरभन्दा धेरै थियो ।

आव २०२१ मा आठ हजार सात सय ६० जनाले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । गत वर्ष नेपालीका भिजिटर भिसाका आवेदनबाट अमेरिकी दूतावासलाई १४ लाख अमेरिकी डलर आम्दानी भएको थियो । जापान, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीबाट चालू आर्थिक वर्षको सात महिनामै ४४ अर्ब बाहिरिएको तथ्यांक सार्वजनिक भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका