जोडिनुहोस
  • होमपेज
  • आईपीएलको १६औं संस्करण आजदेखि सुरु हुँदै

आईपीएलको १६औं संस्करण आजदेखि सुरु हुँदै

काठमाडौँ- विश्वकै चर्चित र धेरै फलो गरिने क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ ।

कोभिड १९ महामारीले गर्दा पछिल्ला केही संस्करण प्रभावित बन्दा सीमित भेन्युमा खेलाउनु परेको थियो । तर आईपीएलको नयाँ सिजन भने नयाँ फर्म्याटसँगै होम एण्ड अवे प्रणालीमा फर्किएको छ । १६औं संस्करणको आईपीएलमा केही नयाँ प्रयोग समेत हुँदैछ ।

 

साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच हुने उदघाटन खेलसँगै आईपीएलको नयाँ रौनक सुरु हुँदैछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।

यस खेलअघि उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।

२०१९ को संस्करणपछि आईपीएल पहिलो पटक होम एण्ड अवे प्रणालीमा हुनेछ । जसले गर्दा फ्रेन्चाइज टिमदेखि समर्थक र दर्शकमा समेत उत्साह छाएको छ ।

१० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन् । हरेक टोलीले घरेलु मैदानमा खेल्न पाउने भएपछि टिमका समर्थकहरु उत्साहित छन् । यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन् । जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नुपर्नेछ ।

२०२२ को पछिल्लो संस्करण मुम्बई र पुनेमा आयोजना भएको थियो भने २०२१ को सुरुवाती खेल भारतमा र पछिका खेलहरु युएईमा खेलाइएको थियो । यस्तै २०२० मा भने सम्पूर्ण खेल दुबईमा भएको थियो । २०२२ को प्लेअफ र फाइनल खेल भने कोलकता र अहमेदावादमा पनि खेलाइएको थियो । कोभिड १९ का कारण भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पछिल्ला तीन संस्करण निकै सावधानी तरिकाले गरेको थियो ।

फर्म्याट

यस पटक पनि गत सिजनको जस्तै फर्म्याटमा आईपीएल खेलाइनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । ड्र अनुसार दुई समूहमा कुन–कुन टिम रहने निर्णय गरिनेछ ।

समूह ‘ए’ मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।

हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई–दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक–एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् ।

जित्ने टिमले २ अंक प्राप्त गर्नेछ भने हार्ने टिमले अंक पाउने छैन । यदि खेल बराबरी भए वा कुनै नतिजा नआए दुवै टिमले समान १–१ अंक पाउनेछन् ।

लिग चरणको खेलपछि प्लेअफमा फाइनलसहित चार खेल हुनेछन् । जसमा लिगको शीर्ष र दोस्रो स्थानमा रहने टिमबीच क्वालिफायर वान हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै लिगमा तेस्रो र चौथो हुनेबीच एलिमिनेटर हुनेछ । यसको विजेता र पहिलो क्वालिफायरको पराजित टिमबीच क्वालिफायर टु खेल हुनेछ । यसको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

क्वालिफायर वान र टु को विजेताबीच फाइनल खेल हुनेछ ।

२०२३ मा नयाँ नियम

१६औं सिजनका लागि बीसीसीआईले नयाँ नियम समेत लागु गर्दैछ । जसमा इम्प्याक्ट प्लेअर रुल पनि छ । आईपीएलको इतिहासमै यस पटक केही परिवर्तन देखिनेछ ।

नयाँ सिजनमा टस अघि दुई टिमका कप्तानले दुई फरक टिमको लिस्ट लैजान सक्नेछ र टस गरेपछि आफ्नो अन्तिम ११ जनाको सूची बुझाउन पाउनेछ ।

टसको नतिजा अनुसार टिमले आफ्ना उत्कृष्ट ११ खेलाडी छान्न सक्नेछ । गत सिजनसम्म भने कप्तानले टस अघि नै टिम सूची एकापसमा साट्नुपर्ने थियो ।

यसअघि जस्तो ‘टस जित र खेल जित’ भन्ने नारामा बीसीसीआईले नयाँ नियम लागु गर्न लागेको हो । जसले गर्दा खेलमा अझ रोमाञ्चकता आउने अपेक्षा छ ।

नयाँ सिजनको आईपीएलमा हरेक इनिङ्समा दुई पटक डीआरएस लिन पाउनेछन् । यस्तै खेलाडीले वाइड र नो बलका लागि पनि रिभ्यु गर्न पाउनेछन् । क्याचआउट भएपछि नयाँ ब्याटरले स्ट्राइक लिनेछन् ।

यदि कोभिड १९ का कारण टिमले पहिलो रोजाइको टिम समेत उतार्न नसकेमा बीसीसीआईले खेललाई पुनः खेलाउने प्रयास गर्नेछ । यदि पुनः खेलाउन नसकिएमा आईपीएलको टेक्निकल टिमले त्यसलाई ह्यान्डल गर्नेछ । यदि प्लेअफ र फाइनलमा सुपर ओभरपछि पनि नतिजा नआएमा लिगमा उच्च स्थानमा रहने ६ टिमलाई विजेता घोषित गरिनेछ ।

इम्प्याक्ट प्लेअर रुल के हो ?

आईपीएलमा यस सिजनदेखि इम्प्याक्ट प्लेअर रुल लागु गर्न लागिएको छ । इम्प्याक्स प्लेअर भारतीय खेलाडी मात्र हुन सक्छन् । किनभने एक टिमले पहिलो रोजाईमा चार विदेशी खेलाउन पाउँछन् र अधिकांशले पहिलो रोजाईमै विदेशी खेलाडीको कोटा खेलाइसक्छन् ।

टिम सिट राखिएको चार सब्सिच्युट खेलाडीमा विदेशी खेलाडी भएमा मात्र विदेशी खेलाडी इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ ।

हरेक टिमले टसको समयमा पहिलो रोजाईसँगै चार सब्सिच्युट खेलाडीको नाम पनि बुझाउनुपर्नेछ र त्यसमध्ये एक खेलाडी मात्र इम्प्याक्ट प्लेअरको रुपमा प्रयोग गर्न पाउनेछ । इम्प्याक्ट खेलाडीको चयन कप्तानले गर्नेछन् ।

इम्प्याक्ट प्लेअर इनिङ्सको अघि वा ओभर सकिएपछि वा विकेट गएपछि वा ओभर चलिरहेको बेला कुनै ब्याटर रिटायर भएमा प्रयोग गर्न पाउनेछ ।

इम्प्याक्ट प्लेअर रिप्लेस गरेको खेलाडी, जसलाई ‘रिप्लेस्ड प्लेअर’ भनिन्छ, खेलको बाँकी समयमा भाग लिन पाउँदैन र वैकल्पिक फिल्डरको रुपमा समेत मैदान फर्कन पाउँदैन ।

बीसीसीआईले इम्प्याक्ट प्लेअरले कप्तानको रुपमा भूमिका निर्वाह गर्न नपाउने निर्णय गरेको छ । खेलमा उत्रिएको दुवै टिमले एक खेलमा एक मात्र इम्प्याक्ट प्लेअर प्रयोग गर्न पाउनेछन् । तर यो अनिवार्य भने छैन ।

यदि कुनै खेलाडी खेलको दौरान घाइते भएमा र उसलाई इम्प्याक्ट प्लेअरले रिप्लेस गरेमा घाइते खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका