जोडिनुहोस
  • होमपेज
  • रैथाने बाली खरिद गर्न सम्झौता

रैथाने बाली खरिद गर्न सम्झौता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ।

सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुपर्ने परिमाण र बालीको प्रकार खुलाउनुपर्ने उल्लेख छ। सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे। अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो।

पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो रु एक सय ४०, मास ३० क्विन्टल प्रतिकिलो रु एक सय ६० तथा फापर, कोदो, चिना र कागुनो बीस क्विन्टल खरिद गर्न सम्झौता भएको छ।

चिनो र कागुनो प्रतिकिलो रु ६५, फापर रु ९० र कोदो प्रतिकिलो रु ६० मा खरिद गर्न सम्झौता भएको छ। पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए। बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौँसम्मको ढुवानी लिमिटेडले गर्नेछ।

शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो। सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो रु ४५ तिर्नुपर्छ। अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो रु १२ मा ढुवानी भाडा तिर्नुपर्ने छ। रैथाने बालीको प्रर्वद्धन र बजारीकरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका