जोडिनुहोस
  • होमपेज
  • विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

म्याग्दी । म्याग्दीको बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्ने बाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्छन् । उनमा युवाको जस्तै जोश र जाँगर कायमै छ ।

करिब ३५ वर्ष अघि मलेशिया गएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताए । मलेशिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उनी गाउँ फर्किए ।

म्याग्दीको बेनीनगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उनको जीवनमा खुशीयाली छाएको हो । घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्छन् । त्यसबाट वार्षिक रु १० लाख कमाउँछन् । छोरा, छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन परेको छैन ।

हरिलाल जस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की, शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी लाभ लिन सफल भएका छन् । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपंक्षीपालनमार्फत खुशी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवा छन् ।

देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइ बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरे पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन’, हरिलालले भने, ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।’

विसं २०६६ देखि व्यावसायिक प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले १४ रोपनीमा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, काँक्रो, मुला, धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु १० लाखभन्दा बढी कमाइ हुने गरेको बताए । घिमिरेले भने, ‘उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले छोरालाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।’

अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला, बन्दा, काउली, केराउ, धनियाँलगायतका तरकारी लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

‘तरकारी बेचेर नै एक दिनमा रु तीन हजारको आसपासमा कमाइ हुन्छ’, घिमिरेले भने, ‘महिनाको सरदर रु ८० हजारदेखि रु एक लाखसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानु विदेश ।’ ‘२१ वर्ष खाडी मुलुकमा बिताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोसिलो खानेकुरा जुटाउन सकेको थिएन’, घिमिरेले विगत सम्झदै भने, ‘अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन ।

सबै खर्च तरकारी खेतीबाट नै जुटेको छ ।’ जिल्लाका छ स्थानीय तहका ७० भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्ति व्यावसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका