जोडिनुहोस
  • होमपेज
  • समिट अपार्टमेन्टको निर्माणको काम रोकियो, भत्किएको घर बनाइदिने सहमति

समिट अपार्टमेन्टको निर्माणको काम रोकियो, भत्किएको घर बनाइदिने सहमति

काठमाडौँ– ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रोहबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष, होटल समिट र पीडित पक्षबीच भएको सर्वपक्षीय बैठकमा तत्काल राहत तथा पुनर्स्थापना लगायतको सहमति भएको हो ।

१२ बुँदे सहमतिमा चर्केका र भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने, भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने उल्लेख छ । ललितपुर महानगरपालिकाको निर्देशनपछि निर्माणको काम रोकिएको छ ।

यस्तै, बैठकले तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन पीडकको पक्षबाट एक करोड रुपैयाँको ‘र्‍यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय पनि भएको छ ।

यस्तै, बैठकले प्रभावितहरुको समस्या तत्काल समाधानका लागि सहजीकरण गर्न ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । समितिमा महानगरपालिकासहित पीडित र पीडक दुवै पक्षको सहभागिता रहेको छ।

सर्वपक्षीय बैठक अघि प्रभावित क्षेत्रको अवलोकन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले तत्काल अवैध संरचना निर्माणको काम रोकेर प्रभावित पीडितहरूको राहत तथा उद्धारको काममा लाग्न होटल पक्षलाई निर्देशन दिएका थिए । उनले पहिले राहत तथा पुनर्स्थापनाको कामलाई अघि बढाइने र त्यसपछि अवैध संरचना निर्माण गर्ने होटल समिटमाथि कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

नक्सापास नगरि काम सुरू गरेकाले यसको व्यवस्थापन पक्ष सिधै दोषी रहेको मेयर महर्जनको भनाइ छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने बखुण्डोलमा रहेको तत्कालीन समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माण गर्ने क्रममा गएको शुक्रवार राति जमिन भासिएपछि घरहरुमा क्षति पुगेको छ । ६ वटा घरहरू पूर्ण रूपमा प्रभावित भएका छन् भने अरु थुप्रै घरहरू समेत जोखिममा परेका छन् । जमिन भासिएका कारण स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन् । अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले यो अपार्टमेन्ट बनाउन लागेको हो ।

सात अर्ब रुपैयाँ लगानीमा होटलसहित त्यहाँ दुई सय बेड क्षमताको सुविधासम्पन्न संरचना बनाउने योजना छ । आफूहरुले निर्माण अघि नबढाउन बारम्बार आग्रह गरेको भए पनि निर्माण पक्षले अटेर गरेर काम अघि बढाउँदा आफूहरुको बिचल्ली भएको स्थानीयको गुनासो छ । निर्माणाधीन समिट अपार्टमेन्टले वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० पनि नगरेको पाइएको छ ।

वातावरण संरक्षण नियमावली, २०७७ मा एक सय बेडभन्दा बढीको होटल तथा १० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा बन्ने भवनको अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो प्रतिवेदन प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गर्नुपर्छ । निर्माण कार्य रोक्न यसअघि नै ललितपुर महानगरपालिकामा निवेदन दिएको भए पनि महानगरले बेवास्ता गरेको र निर्माण पक्षले शक्ति प्रयोग गरी अवैध संचना बनाएको पीडितको आरोप छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका