जोडिनुहोस
  • होमपेज
  • कालीगण्डकी करिडोरमा धमाधम पुल बन्दै

कालीगण्डकी करिडोरमा धमाधम पुल बन्दै

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।

विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवसायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताए ।

अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रूपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ ।

कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्ने पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका