जोडिनुहोस
  • होमपेज
  • पोखराको महेन्द्र पुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण सुरु

पोखराको महेन्द्र पुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण सुरु

पर्वत : पोखराको महेन्द्र पुलमा अन्तर्राष्ट्रिय ‘झन्डा पार्क’ निर्माण गर्न सुरु गरिएको छ।

लायन्स क्लब अफ इन्टरनेशनलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारेर शुक्रवार शिलान्यास गरेका छन्।

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताए। सिकाइको केन्द्रका रूपमा समेत विकास गर्न लागिएको पार्कमा विभिन्न देशका झन्डाहरू रहने छन्।

‘यसको संरचना चार तहको प्यारापिट शैलीमा निर्माण गरिने छ। त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिने छ। बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहने छ। यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराउने हो’, उनले भनेका छन्, ‘यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइने छ।  अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुने छ। यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहने छ।’ महानगरका प्रमुख आचार्यले भनेका कामहरू सम्भव गराउनको लागि पार्क र आसपासको क्षेत्रलाई ‘वाई फाई फ्री जोन’ को विकास गरिने छ।

पोखरा महानगरपालिकाको सौन्दर्यीकरणको अभियानमा आफूहरू पनि सहभागी हुन पाउँदा खुसी लागेको लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्टका गभर्नरहरूले बताएका छन्। लायन्स क्लब अफ इन्टरनेशनलका (डिस्ट्रिक्ट ३२५ एम) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। पोखरामा निर्माण गरिने ‘झन्डा पार्क’ मा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ आई) का गभर्नर राम बहादुर बसेलले बताए। स्थानीय सरकारहरूसँग समन्वय गर्दै हाल मुलुकका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबहरूले काम गरिरहेको उनको भनाइ छ। लायन्स क्लब अफ इन्टरनेशनलका (डिस्ट्रिक्ट) गभर्नरहरूले पार्क निर्माण पश्चात् यसको दिगोपनमा जोड दिनका  लागि महानगरपालिकालाई अनुरोध गरेका छन्।

पोखरा महानगरपालिका–२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्र पुलमा निर्माण गरिने ‘झन्डा पार्क’ पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे। वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय ‘झन्डा पार्क’ महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताए। आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताएका उनले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गरे।

संयुक्त राष्ट्र संघमा आबद्ध एक सय ९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि एक सय ९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ। पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेशनलका डिस्ट्रिक्टहरूले ७० लाख बराबरको आर्थिक सहयोग प्रदान गर्ने छन्। झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ।

महेन्द्र पुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका