जोडिनुहोस
  • होमपेज
  • पाँच वर्षपछि उद्घाटन पुल निर्माण सम्पन्न भएको

पाँच वर्षपछि उद्घाटन पुल निर्माण सम्पन्न भएको

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्तरूपमा पुल उद्घाटन गरेका थिए ।

पुल निर्माण सकिएको भए पनि बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायत पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए । बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङबाट बाँदुक–बेग हुँदै पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको उनले बताए ।

बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको उक्त झोलुङ्गे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ ।  तत्कालीन जिल्ला विकास समितिले रू दुई करोड ७९ लाख ९० हजार लागतमा पुल निर्माणका लागि मुक्तिनाथ-श्री गीता जेभीलाई ठेक्का लगाएको थियो । 

विसं २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब तीन घन्टाको यात्रा ३० मिनेटमै छोटिएको छ ।

दुई गाउँलाई जोड्ने पुल सञ्चालनमा आएपछि भीर र खोलानालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका