जोडिनुहोस
  • होमपेज
  • म्याद गुज्रिएका बडवाइजर बियर बजारमा जताततैँ

म्याद गुज्रिएका बडवाइजर बियर बजारमा जताततैँ

काठमाडौँ– पछिल्ल्लोपटक बहुराष्ट्रिय ब्रान्डको बियर ‘बड्वाइजर’ नेपाली बजारमा म्याद गुज्रिएको यत्रतत्र फेला पर्न थालेको छ । जाउलाखेल डिस्टिलरीले बजारमा ल्याएको बड्वाइजर बियरको ब्याच नम्बर ६००५२ ई, ६०६६ एफ लगायतका ब्याचको उत्पादन मिति सकिए पनि राजधानीलगायतका प्रमुख शहरमा उपभोक्तालाई खुलेयाम बिक्री वितरण भइरहेको तथ्य सार्वजनिक भएको छ ।

यतिबेला बियरको माग उच्च हुने मौसम भएको र नयाँ वर्षको अवसरमा उपभोक्ता रमाइलो गर्ने मनस्थितिमा हुने भएकाले त्यो मौका छोपेर उक्त डिष्टिलरीले स्टकमा रहेको म्याद गुज्रिएको बियरलाई बजारमा पठाएको देखिन्छ ।

उक्त कम्पनीको म्याद गुज्रिएका बियर बेचेको अभियोगमा राजधानीका विभिन्न होटल तथा रेष्टुरेन्टका कर्मचारीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको भए पनि म्याद गुज्रिएका बियर बजारमा आपूर्ति गर्ने कम्पनी तथा थोक बिक्रेतालाई प्रहरी तथा सम्बद्ध निकायले सोधपुछसमेत नगरेको स्रोतको दाबी छ ।

बजारमा म्याद गुज्रिएको बड्वाइजर बियर छ्याप छ्याप्ती रहेको गुनासो आएपछि बागबजारको सिटी होटल, स्वयम्भूको इभेन्ट प्वाइन्ट, ठमेलको थर्ड आई, कलंकीको प्रेसिडेन्ट सेकुवालगायतका विभिन्न मदिरा पसलमा म्याद नाघेका बड्बाइजर बियर फेला परेको थियो ।

अप्रिलको पहिलो साता नै म्याद सकिएका बियर थोक बिक्रेतामार्फत् होटल, रेष्टुरेन्ट तथा खुद्रा पसलमा पठाइएको बिक्रेताहरूको गुनासो छ ।

बहुराष्ट्रिय ब्रान्डको उक्त बियरको उद्योग नवलपरासीको रामग्राम नगरपालिका–६ मा रहेको छ । उद्योगका सञ्चालक राजबहादुर शाह हुन् । उच्च स्रोतका अनुसार उक्त कम्पनीबाट उत्पादित भएर बजारमा पठाइएका बियरका हरेक कार्टुनमा ४ देखि ६ बोतलसम्म म्याद गुज्रिएको बियर मिसाएर आएको बिक्रेताको भनाइ छ । १ सय ४७ वर्ष अघि अमेरिकाको मिसौरीको सेन्ट लुइसमा बड्वाइजर बियर स्थापना भएको थियो । विश्वका अधिकांश देशमा सो बियर बिक्री हुँदै आएको छ ।

यसअघि गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ठूलो परिमाणमा नक्कली मदिरा एवम् गुणस्तरहीन र म्याद गुज्रिएका बियर बरामद गरेको थियो ।

विभागले गरेको बजार अनुगमनका क्रममा करिब ३ हजार कार्टुन विभिन्न ब्रान्डका गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर फेला पारेको छ । विभागले सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगास्थित गोदाम, सिनामंगलकै सिके ट्रेडिङ प्रालिको गोदाम तथा धुम्बराईस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदामबाट लाखौं रुपिया“बराबरको २ हजार ७ सयभन्दा बढी कार्टुन बियर बरामद गरेको थियो । त्यतिखेर बाह्रसिङ्गे, मुस्ताङ, नेपाल आइस, बड्वाइजर, गोर्खालगायतका ब्रान्डका बियर फेला परेपछि ती गोदाममा शिलबन्दी गरी अनुसन्धान गरिरहेको छ ।

उत्पादक कम्पनीको मिलेमोतोमा बजारमा म्याद गुज्रिएका बियर पठाइएको हो की डिलर र थोक बिक्रेताको लापबाहीले बजारमा यस्ता वस्तुको आपूर्ति भइरहेको छ भन्ने बारेमा अनुसन्धान भए पनि बीचमा तुहिएको थियो ।

विभागले नक्कली, गुणस्तरहीन तथा म्याद गुज्रिए मदिरा, बियर, हल्का पेयपदार्थहरू विशेष गरी भोजभतेर, पार्टी प्यालेस तथा रात्रिकालीन होटल तथा रेष्टुरेन्टहरूमा कारोबार हुनसक्ने भन्दै त्यसका आपूर्तिकर्ता, गोदामहरूमा विशेष निगरानी गर्दै आएको छ भने उपभोक्तालाई सचेत गराउन सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

त्यस्तै नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै गरेको दुई दर्जनभन्दा बढी अप्रेसनमा बजारबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका नक्कली मदिरा, बियर फेला परेको थियो । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मात्रै होइन राजस्व गुम्ने विषयमा प्रहरी अनुशन्धान गरिरहेको छ ।

प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा नक्कली गोल्डेनवाक, रुस्लान भोड्का, ८८४८ भोड्का, रम, मुग्लान विस्की जस्ता ब्रान्डका मदिरा फेला परेको थियो । साथै प्रहरीले कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिकर सप, गोङ्बु मित्रनगरस्थित एसटी लिकर स्टोर्सबाट लार्खाै मूल्यबराबरको नक्कली मदिरा बरामद गर्नुका साथै ललितपुरको टीकाथलीमा विदेशी मदिरा बनाउने कारखाना नै फेला पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका