जोडिनुहोस
  • होमपेज
  • आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्दै

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्दै

दमौली– आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन्। छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिए। 

अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको जनाउँदै उनले भने, ‘हालसम्म पाँच जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराइसक्नुभएको छ, भर्ना गराउने क्रम जारी छ ।

आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै छन् । गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार गाउँपालिकाका ३२ जनप्रतिनिधिले छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका छन् ।

गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण अभियानका रूपमा अगाडि बढाउँदैछ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने चुमानले जानकारी दिए । 

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चार सयभन्दा बढी  विद्यार्थी अध्ययनरत छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौँ, व्यवहारमा उतार्दैनौँ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ’, उनले भने, ‘यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको चुमानले बताए। त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले बताए। ‘सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो’, अध्यक्ष चुमानले भने । 

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने उनले बताए । 

गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारका लागि भौतिक एवं शैक्षिक क्षेत्रमा जोड दिइएको चुमानले बताए । ‘कार्यालयको सवारी पुरानो भइसकेको छ, कतै जाँदा दुःख दिन थालेको छ । तर हामीले नयाँ गाडी किन्ने निर्णय गरेनौँ’, उनले भने, ‘बरु उक्त रकम विद्यालयमा लगानी गर्ने निर्णय गरेका छौँ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस वितरणको तयारी गरेका छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका