जोडिनुहोस
  • होमपेज
  • फोहर व्यवस्थापनमा देशभरका ७५३ पालिकालाई उछिनेर रत्ननगर उत्कृष्ट

फोहर व्यवस्थापनमा देशभरका ७५३ पालिकालाई उछिनेर रत्ननगर उत्कृष्ट

चितवन – देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ ।

नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।

सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।

नगरपालिकाका इन्जिनियर पङ्कज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहरमैला व्यवस्थापनमा रु एक करोडदेखि एक करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्र्याक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य फोहर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक रु ४२ लाख आम्दानी हुने गरेको छ ।

अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक रु १० लाख मात्रै थियो । उनका अनुसार नगरपालिकाले फोहर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाले सौराहालगायतका क्षेत्रमा रहेका अधिकांश होटलमा प्लास्टिकको प्रयोगमा कडाइ गरिएको छ । फोहरको मात्राको आधारमा दैनिकदेखि दुई सातासम्म पालो गरेर उठाउने गरिएको छ । इन्जिनियर गिरीको भनाइमा मासिक रु २५ देखि ठूला होटलले रु तीन हजार पाँच सयसम्म फोहर व्यवस्थापनका लागि खर्च गर्दै आएका छन् । घरघरमा कम्पोष्ट मल बनाउन लगाइएको छ भने घर बनाउँदा उच्चस्तरको सेफ्टीट्याङ्की बनाउन अनिवार्य गरिएको छ ।

बजार क्षेत्रमा कागजको झोला (पेपर ब्याग) को प्रयोगलाई प्रोत्साहन गरिएको छ । वडा नं ५, ६ र ७ मा क्लिन सिटी अभियान गैरसरकारी संस्थासँग मिलेर सञ्चालन गरिएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरका चोक बजारमा थुपारिएको फोहर नदेखिने बताउनुभयो । नगर क्षेत्रमा गुठ्खा, सुर्तीका खोल जस्ता प्लास्टिकजन्य वस्तु फाल्न निषेध गरिएको छ । बजार क्षेत्रका मलमूत्रलाई पाइपलाइनमार्फत वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । जहाँ आठ वटा पोखरीमा मलमूत्र प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । उनले भने, “हामी रत्ननगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउन लागिपरेका छौँ”, यस अभियानमा नगरवासीको सहयोग भएकै कारण सफलता मिलेको उनको भनाइ छ ।

नगरपालिकाले रु पाँच हजार डलर राशिको पुरस्कार सहित उत्कृष्ट हुन सफल भएको जनाउँदै उहाँले नगरपालिकाले गरेका राम्रा अभ्यास अन्य नगरपालिकाले समेत सिको गर्नसक्ने बताए । नगरपालिकाको वडा नं ११ मा ‘ल्याण्डफिल्ड साइड’ छ । नगरपालिकाको वडा नं १, २, १० र ४ सहरी क्षेत्रमा पर्दछ । नगरपालिकाले जनघनत्व धेरै भएका ठाउँबाट फोहर व्यवस्थापनलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

यही नगरमा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा पर्दछ । पर्यटकीय नगरी भएकाले यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । सापकोटाका अनुसार होटल व्यवसायीलाई सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्न आग्रह गरिएको बताए ।

निकुञ्जसँग जोडिएको नगरपालिका भएकाले फोहरको प्रभाव वन्यजन्तुमा समेत पर्नसक्ने भएकाले त्यसतर्फ पनि विशेष ध्यान पुर्‍याइएको नगर प्रमुख सापकोटा बताउँछन् । उपप्रमुख यादव पाठकले नगरपालिकामा आफूहरु आएको एक वर्ष नपुग्दै फोहर व्यवस्थापनमा उत्कृष्ट बनेको जनाउँदै उनले आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका