जोडिनुहोस

प्रदेश

देशभर ६४ स्थानमा डढेलो

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख ५, २०८०
देशभर ६४ स्थानमा डढेलो

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश ठूला सहरमा घाम लागिरहेको छ तर, मौसम धुम्म देखिन्छ।

सास फेर्न गाह्रो भएजस्तो हुने, नाकका प्वाल पोल्ने र आँखा पिरपिराए जस्तो हुने क्रम केही दिनदेखि चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा प्रदूषणको मात्रा अधिक हुँदा यस्तो भइरहेको हो।

देशका विभिन्न स्थानमा डढेलो लाग्दा मौसममा खराबी आएको बताइएको छ। अहिले हावाहुरी चल्ने समय हो। जमिनको धुलो उडिरहेको हुन्छ। यही समयमा आगलागी हुन्छ। किसानले गहुँ भित्र्याउने बेला पनि यही हो। तराईमा थ्रेसर लगाउँदा वायु प्रदूषण हुने हुन्छ। यी सबै कारणले वायु प्रदूषण भइरहेको छ। पानी नपर्दा र हावा नचल्दा यो वायुमण्डलमा तैरिएर रहेको छ, मौसमविद् भन्छन्।

हाल नेपालमा ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ। सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ। बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीनरतीन ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुंगा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुईरदुई ठाउँमा डढेलो लागेको छ।

उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एकरएक ठाउँमा डढेलो लागेको वन मन्त्रालयसँग तथ्यांक छ। मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ।

तराईदेखि मध्य पहाडी वनजंगलसम्ममा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं डढेलोविद् सुन्दर शर्माले बताए। कतिपय ज‌ंगलमा लागेको डढेलो बस्तीमै पुग्ने जोखिमसमेत बढेको उनले बताए।

नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको उनको भनाइ छ। हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जंगलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उनले बताए। डढेलोका कारण ठूलो धनजनको क्षति हुने भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ।

हाल नेपालमा ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ। सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ।

यस्तै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए। उनले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए। बारा, पर्सा र चितवनबाट बाग्मती कोरिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको बताए।

डढेलोका कारण काठमाडौंसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको र अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने पूर्वानुमान गरिएको छ।

धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो। प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन्। यस्तै कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा संक्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ।

यसैबीच विज्ञहरूले प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ। जलवायु तथा विपदविज्ञ डा। धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए।

उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए। उनले केही दिनका लागि धुँवा निकाल्ने गाडी र मापदण्ड पालना नगरेका गाडी सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका