जोडिनुहोस
  • होमपेज
  • पोखरा महानगरपालिका न्यून आय भएकाहरु लाई एक सय घर निर्माण सम्बन्धमा सम्झौता

पोखरा महानगरपालिका न्यून आय भएकाहरु लाई एक सय घर निर्माण सम्बन्धमा सम्झौता

पर्वत : कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ। सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतामा पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडका बीचमा महानगर क्षेत्रमा एक सय वटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।

पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो। महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम सात लाख रुपैयाँ न्यून लागत आवास कर्जा प्रवाह गर्ने छ।

लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाखमध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछन्। उक्त कर्जामा वार्षिक नौ दशमलव ९९  प्रतिशत ब्याज लाग्ने छ भने यस बाहेक सेवा शुल्क लाग्ने छैन। सम्झौताको कुल रकम सात करोड रुपैयाँ रहेको छ। प्रत्येक लाभग्राहीलाई सात लाख रुपैयाँका दरले वार्षिक नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र ११ हजार छ सय १७ रुपैयाँका दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ। सम्झौता अनुसार एक वर्षभित्र एक सय वटा घर बनाइने छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। ‘महानगर भित्र हाल १९ हजार आठ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ। अहिले उहाँहरूलाई निस्सा वितरण गरिरहेका छौँ’, प्रमुख आचार्यले भने, ‘सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने विषयमा हामी सचेत छौँ। यसबीचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ। यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ।’ आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने पनि उनले  प्रतिबद्धता जाहेर व्यक्त गरेका छन्।

लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताए। पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना  सेवा विकास बैंकको सहयोगमा हाल सम्म एक हजार ३७ वटा घर निर्माण तथा मर्मत, बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा छ वटा नयाँ गरी एक हजार ८८ वटा घरहरू निर्माण गरिएको उनको भनाइ छ। परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ।

आवास निर्माण क्लष्टरबेस तर्फ दुई वटा मोडल बनाउँदा उपयुक्त हुने लुमन्तिले जनाएको छ। उसका अनुसार २५ लाख सम्मको घरजग्गा र ४५ लाख सम्मको घर जग्गा गरी दुई वटा मोडल उपयुक्त हुनेछन्। यसलाई उसले भावी योजनाका रूपमा अगाडी सारेको छ। ७० करोडको ऋण सहायतामा आगामी पाँच वर्षमा एक हजार वटा घर निर्माण गर्ने र तीमध्येका एक सय वटा घरहरू क्लस्टरबेसमा निर्माण गर्ने योजना छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका