जोडिनुहोस
  • होमपेज
  • सडक सञ्जालको विकास सँगै धनगढीको सहरी क्षेत्रको मुहार फेरिदै

सडक सञ्जालको विकास सँगै धनगढीको सहरी क्षेत्रको मुहार फेरिदै

सुदूरपश्चिम– सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको छ ।

उपमहानगरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झण्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलो पटक ठूलो बजेट रकमको लागतसहित सडक स्तरोन्नति भएको हो । 

यस क्रममा मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर लम्बाइमा सडकको दायाँबाँयाको क्षेत्र मिचेर बनाइएका झण्डै चार सय २८ घर संरचना घर संरचना भत्काइएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ६० करोड बजेटको सहयोग छ । 

उपमहानगरपालिका इञ्जिनियर दिजराज भट्टले स्तरोन्नति भइरहेको सडकको दुवैतिर पक्की नाली, फुटपाथ सहितको सडक बन्न लागेको बताए। ‘सडकका विभिन्न चोकको नामाकरण पनि गरिँदैछ’, उनले भने, ‘सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिको शालिक स्थापना गर्ने तयारी पनि छ ।

 स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तह आफैले निर्माण गर्ने सडकको आफै मापदण्ड तोक्न पाउने व्यवस्था बमोजिम सडक फराकिलो गरी स्तरोन्नति गर्न लागिएको हो । यस बाहेक विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीका थप केही मुख्य सडक र शाखा सडकको स्तरोन्नति पनि धमाधम भइरहेको छ । आयोजना अन्तर्गत उपमहानगरपालिकाको विभिन्न वडामा पर्ने झण्डै ११ किलोमिटर लामो सडकको स्तरोन्नति भइरहेको हो । 

स्तरोन्नति भइरहेको ट्राफिक चोकदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किलोमिटर, गुल्म–चर्च सडक दुई दशमलब सात किमी, हुलाकी सडक खण्डदेखि जाखोर ताल सम्मको सात सय मिटर, क्याम्पस रोड–शहीद गेट सडक तीन दशमलव ६५ किमी, धनगढी–खुटिया–स्याउले सडक आठ सय ७० मिटर, मालपोत सडक चार सय ३० मिटर र हसनपुर सडक एक दशमलव १५ किमि लामो छ ।

उपमहानगरपालिकाले सडक मिचेर बनाइएका घर संरचना भत्काएर सडक स्तरोन्नति गर्ने र प्राकृतिक खोला नालामा भएको अतिक्रमण हटाउने पहल विगतमा गरेपनि विभिन्न बाधा-व्यवधानको सफल हुनसकेको थिएन । विगतमा सडकको जग्गा मिचेर घर संरचना बनाउने काममा उपमहानगरपालिका आफैले घरनक्सा पास गरिदिएका कारण सडक साँघुरिँदै जाने समस्या उत्पन्न भएको नगरवासीको भनाइ छ । 

सडक सञ्जालको विकासकै क्रममा निर्माणाधीन धनगढीको मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको झण्डै १४ किलोमिटर लामो भागको सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेन सडकको निर्माणकार्य पनि लगभग पूरा हुन लागेको छ। यो सडक अन्तर्गतको सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण जारी  छ । 

धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडक खण्डमा दैनिक सानाठूला पाँच हजार भन्दाबढी यातायातका साधनको आवागमन हुनेगर्छ । यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।

विसं २०७६ सम्म यो सडक सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न बाधा अवरोधका कारण निर्माण अवधि पटक–पटक थपिँदै गएको छ । ‘छ लेन’ सडक निर्माणसँगै धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत् १०-१५ मिनेट मात्र लाग्न थालेको छ । सडक स्तरोन्नतिपछि आवागमन पनि सहज भएको अनुभव नगरवासीको छ ।

यसअघि साविक सडक जीर्ण र साँघुरो हुँदा सवारी साधनमार्फत् धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो । यो सडक, सडक विभागको उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतको सरकारको प्राथमिकता प्राप्त योजना हो । सडकको लागत करिब रु दुई अर्ब १५ करोड छ । सडकको स्तरोन्नतिसँगै धनगढी, अत्तरियालगायतका साना ठूला बजार क्षेत्रको व्यापारिक क्रियाकलापमा योगदान पुग्ने विश्वास गरिएको छ ।   

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका