जोडिनुहोस
  • होमपेज
  • बागलुङ सडक एक साताका लागि पूर्णरूपमा बन्द

बागलुङ सडक एक साताका लागि पूर्णरूपमा बन्द

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीदेखि रत्नेचौर हुँदै छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक एक साताका लागि पूर्णरूपमा बन्द गरिएको छ।

बेनी नगरपालिकाले एक सूचना प्रकाशन गरी बेनी–बाग्लुङ सडकअन्तर्गत बेनी नगरपालिका १ र २ मा पर्ने रत्नेचौर–खवरा खण्डमा सडक कालोपत्रे गर्न वैशाख ५ गतेदेखि १२ गतेसम्म यातायात पूर्णरूपमा बन्द रहने जानकारी गराएको हो।

बेनी–रत्नेचौर–बागलुङ सडकमा अहिले कुनै पनि सवारी साधन चलेका छैनन्। सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । एक सातासम्म यातायातका साधन बनी–मालढुंगा हुँदै बागलुङ आउजाउ गर्ने बाध्यता रहेको उनले जानकारी दिए।

१४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्लाभित्र पर्छ । बागलुङ क्षेत्रमा पर्ने सडक कालोपत्रे भइसकेको छ भने म्याग्दी क्षेत्रको सडकमध्ये साढे तीन किमि सडक कालोपत्रे गर्न बाँकी थियो।

रत्नेचौरबाट बेनीको खबरासम्मको उक्त सडक कालोपत्र गर्ने काम २०७४ मा १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बीएन जेभीले लिएको थियो। ​

कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेको थियो। लगातारको ताकेतापछि काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अधिकारीले जानकारी दिए। ‘वैशाख महिनाभित्रै कालोपत्रेको काम सम्पन्न हुन्छ। जिल्लाभित्र रोकिएका सबै काम धमाधम भइरहेको छ’, प्रमुख अधिकारीले भने।

यसैगरी बेनी–जोमसोम–कोरोला सडक पनि दैनिक ६ घण्टा बन्द गरिएको  छ। रुप्से छहरा खण्डमा बेलिब्रिज राख्न, पहिरो रोकथाम गर्न, सडक विस्तार एवं स्तरोन्नति गर्नुपर्ने भएकोले दैनिक ६ घण्टा बन्द गर्नुपरको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना प्रकाशित गरी वैशाख वैशाख २० गतेसम्म रुप्से छहरा खण्डमा बेलिव्रिज राख्न, पहिरो रोकथाम गर्न, सडक विस्तार एवं स्तरोन्नति गर्ने प्रयोजनका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म उक्त खण्डमा यातायात अवरुद्ध हुने जानकारी गराएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका