जोडिनुहोस
  • होमपेज
  • रौतहटका किसानहरु व्यावसायिक मकै खेतीतर्फ आकर्षित

रौतहटका किसानहरु व्यावसायिक मकै खेतीतर्फ आकर्षित

रौतहट : जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।

वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय बिगाहा जमिनमा मकै खेती गरिएको हो।

व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।

स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि डेढ बिगाहादेखि तिन बिहागासम्म मकै खेती गर्दै आएका छन्। बलेरीमा उत्कृष्ट मकै खेती किसानको रुपमा शिक्षक पटेलले आफ्नो पहिचान स्थापित गरेका छन्। बलेरीमा मकै खेतीबाट वार्षिक घटीमा दश करोड रुपैयाँ भित्रिने गरेको स्थानीय युवा नेता सुरेन्द्र पटेलले बताए। राम्ररी फल्यो भने एक कट्ठा खेतमा १० क्विन्टलसम्म मकै उत्पादन हुने गरेको पटेल बताउँछन्।

सामान्यतया औसतमा व्यावसायिक मकै खेती गर्ने किसानले प्रति कट्ठा पाँच क्विन्टल फलाउँछन्। पाँचदेखि १० क्विन्टल प्रतिकट्ठा फल्ने मकै खेतीले गाउँमा पर्याप्त पैसा आउने गरेको पटेलको भनाइ छ।

मकै खेतीको लागि उपयुक्त माटो तथा सिँचाइको व्यवस्था भएकाले स्थानीय किसानहरु मकै खेतीप्रति आकर्षित भएका हुन्। बलेरीमा अहिले करिब साढे ६ सय बिगाहा मकै खेती गरिएको अनुमान गरिएको छ।

बलेरीको अधिकांश किसानले मकै खेती नै गरेका छन्। कैयौं वर्षदेखि बलेरीवासी व्यावसायिक मकै खेती गर्दै आएका कारण मकै बेच्न कुनै समस्या नै नहुने स्थानीय किसान संजय पटेल बताउँछन्।

खेतमा मकै बोटमा नै रहेको बेलादेखि मकै पोलेर बेच्ने तथा मकैको घोगाको व्यापार गर्नेहरुले मिनी ट्रक लिएर आउने गरेको वर्षौंको अनुभव किसानहरुको छ।

मकैको बोटबाटै प्रति घोगाको मूल्य तिरेर किन्नेहरुदेखि लिएर खेतमै रहेको मकैको मूल्य तिरेर आफैं घोगा भाँचेर लाने व्यापारीहरु पनि आउने गरेको किसान पटेलको भनाइ छ।

खेतमा मकै पाकेपछि मकैको दाना बिक्री गर्ने पनि कुनै झन्झट नहुने गरेको किसानहरु बताउँछन्। मकै बेच्न कुनै अप्ठ्यारो नहुने भएकाले बलेरीका स्थानीयवासीका लागि मकै खेती नगदे बालीको रुपमा विकास भएको किसानहरुको बुझाइ छ।

रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा तथा फतुवा विजयपुर नगरपालिकाको उत्तरी क्षेत्रका किसानहरु व्यापक मात्रामा मकै खेती गरिँदै आएको छ।

केही वर्षदेखि जंगली जनावरले मकै खेतीलाई नोक्सानी पुर्‍याउँदै आएको गुनासो किसानहरूको रहेको छ। मुख्य गरी नीलगाई र बँदेलले मकै खेतीलाई नोक्सान पुर्‍याउँदै आएको छ।

पहिले हात्तीले पनि दुःख दिन्थ्यो तर पछिल्ला केही वर्षदेखि नीलगाईले गर्दा मकै खेती किसान निकै समस्यामा रहेको गुनासो हुने गरेको छ। मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ।

मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरु भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका