जोडिनुहोस
  • होमपेज
  • आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

मधेस प्रदेशअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–२ का मधेसी दलित युवा महादेव पासवानले पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेका छन्। इन्स्टिच्युट अफ मेडिसिन ९आइओएम० ले लिएको प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

महादेवले महोत्तरीको लचमु माध्यमिक विद्यालय जलेश्वरबाट ४.० जिपिए ल्याई एसइई उत्तीर्ण गरेका हुन्। २०७६ सालमा एसइई उत्तीर्ण गरेका उनले जनकपुरधामको राजर्षि जनक क्याम्पसबाट २०७९ मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनले कक्षा ११ मा ३.७१ जिपिए र कक्षा १२ मा ३.३० जिपिए ल्याएका थिए।

विक्रम पासवनका तीन सन्तानमध्ये महादेव दोस्रा हुन्। महादेवकी दिदीको विवाह भइसकेको छ। कान्छा भाइले यसपालि एसइई दिए। महादेवको स्कुल, कलेज र मेडिकल तयारी बहुत मुस्किलले गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारको जग्गाजमिन छैन।

सम्पत्तिका नाममा ओत लाग्ने एउटा सानो घर छ। कक्षामा पहिलो हुने भएकाले स्कुल पढ्दा महादेवलाई खर्च लागेन। ‘छोरा सधैं कक्षामा प्रथम हुँदै आएकाले कापीकलम पनि किन्नुपर्दैनथ्यो,’ विक्रम भन्छन्, ‘पूर्ण छात्रवृत्ति दिइएको थियो। घरबाटै कलेजको बसले ल्याउने–पु-याउने गथ्र्यो।’

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि काठमाडौं गई नेम्समा पढ्ने धोको महादेवको थियो। तर आवश्यक रकम जुटाउन नसक्दा उनले थोरै शुल्कमा अनलाइनमार्फत पढ्ने निधो गरे। कमजोर आर्थिक अवस्था भए पनि क्षमतावान् विद्यार्थी भनेर पहिचान गरेपछि नेम्सले अनलाइन पढाइबापतको शुल्क लिएन।

घरमै राम्ररी अध्ययन गरेर उनी एमबिबिएसमा दलित मधेसी आरक्षण कोटामा नाम निकाल्न सफल भए। एमबिबिएसको प्रवेश परीक्षामा ८६।५ अंक ल्याएका उनले पूर्ण छात्रवृत्तिमा कर्णाली प्रदेशको मेडिकल कलेजमा पढ्ने अवसर पाएका छन्। आफूले खुलामै नाम निकाल्न सक्ने भए पनि आरक्षणको व्यवस्थाले समय बचाइदिएको महादेव बताउँछन्। उनका अनुसार खुलामा नाम निकाल्न अर्को वर्ष वा त्योभन्दा बढी समय पर्खनुपथ्र्यो।

छोराले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालेको विक्रम खुसीसँगै चिन्तित छन्। चिन्ताको कारण हो, खर्च व्यवस्थापन। छोरालाई कर्णाली पठाउँदा लाग्ने खर्चको जोगाड गर्न नसकेर उनी रन्थनिएका हुन्। ‘किताब, कापी, बस्नेखाने खर्च आफैंले बेहोर्नुपर्छ,’ उनी भन्छन्, ‘छोराले आफ्नो काम गरिसक्यो। अब मेरो पालो छ। कहाँबाट खर्च जोहो गर्नु भन्ने भइरहेको छ। मेरै कारणले छोराको डाक्टर बन्ने सपना पूरा नहुने हो कि भन्ने डर छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका