जोडिनुहोस
  • होमपेज
  • शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ :  गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरू भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए। एक दशक भन्दा बढि समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो।

‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौं। यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नु छ। धेरै दशकभन्दा बढि बित्यो। डेढ देश बितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौं। र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्नहरू भइराखेका छन। त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ।

उनले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए। मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दावी समेत गरे।

‘ जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिवद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नु पर्छ। र, फड्को मार्ने दिशामा पुर्याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो। जसलाई हामीले तात्कालिक केन्द्रीय कार्यभार भनेका छौं। यसक्रममा अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरू देखा परेका छन। तत्कालीक रूपमा केही अप्ठ्याराहरू देखा परेका छन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर, अर्थतन्त्र गम्भिर संकटको चक्रव्यूहमा पसेर निस्किनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन। केही समस्याहरू छन। त्यो समस्याहरूलाई हामीले गम्भिरतापूर्वक विश्लेषण गरिराखेका छौं। त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं। र, फेरी हामी अर्थतन्त्रलाई चलायमान बनाएर, गतिशील बनाएर हामी समृद्धिको यात्रालाई तीव्र बनाउने प्रक्रियामा जानु छ। यो हाम्रो तात्कालिक केन्द्रीय कार्यभार हो।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरू प्रतिवद्ध रहेको पनि बताए। उनले सुशासन र जनमुखी कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले सीमित स्रोत र साधनको भरमा काम गर्नुपर्ने भएकाले सरकारले चाहे जसरी काम गर्न सक्ने अवस्था नभएको पनि स्मरण गराए।

‘अहिले हामीले प्रारम्भिक काम गर्न थालेका छौं। यस पटक हाम्रो श्रद्धेय अध्यक्ष प्रचण्ड, जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। उहाँले पार्टी स्थायी समितिको बैठकमा, क्याबिनेटमा र हाम्रो छुट्टै हाम्रो मन्त्रीहरूलाई विशेष निर्देशन दिनु भएको छ। यस पटक गल्ती गर्ने छुट हुन सक्दैन। यस पटक सुशासनमा कमजोरी गर्ने छुट हुन सक्दैन। यस पटक हामीले जनमुखि कार्ययोजना बनाउने कुरामा हेलचक्र्याई गर्ने छुट हुन सक्दैन,’ उनले भने, ‘त्यसकारण सबै मिलेर नयाँ ढंगले काम गरौं भन्ने छ। तर केही सीमाहरू छन। जो तपाईहरूलाई थाहा छँदैछ। हाम्रो नेतृत्वको सरकार हो। तर, हाम्रो पार्टीको मात्रै सरकार होइन। यो प्रकारको समीकरण पनि तपाईहरूलाई थाहा नै छ। त्यसकारण त्यसको सीमा बुझ्दै, अहिले राज्यको साधन, स्रोतको सीमा पनि बुझ्दै अहिले भूराजनीतिक परिस्थिति निर्माण गरेको सीमा पनि बुझ्दै हामीलाई सही दिशातर्फ काम गर्न तपाईहरूले सही कामको प्रचारप्रसार गर्न र सही कुरा के हुन सक्छ भनेर सुझाव दिन, जनतालाई जागृत गर्न र गल्ती भए सच्याउनका लागि दवाव दिन पनि भूमिका खेल्नु पर्दछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका