जोडिनुहोस
  • होमपेज
  • गत मंसिर ४ मा २० सिट ल्याएको रास्वपाले थप एक सिट बढाएर २१ पुर्यायो

गत मंसिर ४ मा २० सिट ल्याएको रास्वपाले थप एक सिट बढाएर २१ पुर्यायो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा एक सिट बढाएको छ। गत मंसिर ४ गतेको निर्वाचनमा २० सिट ल्याएको रास्वपाले वैशाख १० काे उपनिर्वाचनमा थप एक सिट बढाएर २१ पुर्याएकाे हाे। तनहुँ–१ बाट​ रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले विजयी भएका छन्।

उनी ३४ हजार ४८० मत सहित निर्वाचित भएका हुन्। वाग्लेका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ प्राप्त गरे। ​मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको तनहुँ–१ बाट रास्वपाले एक सिट बोनस पाएको हो।

यस्तै चितवन –२ बाट रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएका छन्। उनी ५४ हजार १७५ मतसहित विजयी भएका हुन्। तीन मध्ये दुई सिट जितेको रास्वपाबाट अब प्रतिनिधिसभामा २१ सिट पुगेको छ। जसमध्ये इन्दिरा राना मगर उपसभामुख छिन्।

गत चैत ३ गते निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरेको थियो। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पद रिक्त भएको थियो। यस्तै चितवन–२ मा रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि रिक्त थियो।

गत मंसिर ४ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा सात सिट र समानुपातिकमा १३ सिट ल्याएको थियो। उसले ११ लाख ३० हजार ३४४ मत समानुपातिकतर्फ पाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका