जोडिनुहोस
  • होमपेज
  • टोपबहादुर रायमाझीबारे ओलीले भने : सांसदलाई बाटोमै समाउनु रहस्यमय

टोपबहादुर रायमाझीबारे ओलीले भने : सांसदलाई बाटोमै समाउनु रहस्यमय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको … रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’

ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए । ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ उनले भने ।

उनले अहिले एमाले नेताहरु यसमा तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी बोल्छौं’ ओलीले भने ।

तेस्रो देश पुनर्बास कार्यक्रमबाट बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले पहल गरेको भन्दै ओलीले त्यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको पनि बताए ।

त्यतिबेला भुटानसँग कुरा गरेर उतै पठाउने, तेस्रो देश पुनर्बास गराउने वा नेपालमै बसोबासको व्यवस्था मिलाउने भन्ने विकल्पमा छलफल भएको उनले बताए ।

‘त्यसको स्टडी गर्ने कुरा भएको थियो, अलि पछाडि सुन्नमा आयो नक्कली शरणार्थी खडा गर्ने कोशिस हुँदैछ रे । मैले गृहमन्त्रीलाई बोलाएर भनेको थिएँ यस्तै सुन्दैछु भनेर । अनुसन्धान विभागलाई पनि राम्ररी खोजीनीति गर्नु भनेको थिएँ’ ओलीले भने ।

अहिले ४ वर्षअघि चेक काटेको र उक्त चेक जसले काटेको उसैसँग रहेको जस्ता घटना सार्वजनिक भएको ओलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका