जोडिनुहोस
  • होमपेज
  • बुद्धजयन्तीमा ओलीको शुभकामना- लुम्बिनीको तथ्यगत् विषयमा विश्वको ध्यान जान जरुरी

बुद्धजयन्तीमा ओलीको शुभकामना- लुम्बिनीको तथ्यगत् विषयमा विश्वको ध्यान जान जरुरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको औंल्याएका छन् ।

बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे आफ भेसाक) का रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।

‘हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीनवटा बुद्धको जन्मस्थलका रुपमा प्रख्यात रहेको छ । सम्राट अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एकवटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ’, ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रह्मी लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि सो स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको थियो ।’

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाई छ ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।

‘लुम्बिनीमा ५ हजार ध्यानीहरुले एकैपटक ध्यान गर्न सक्ने क्षमताको हल हामीले निर्माण गरेका छौं । हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बौद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासलाई उच्च महत्व दिएका थियौं । फलस्वरुप आज बुद्धको जन्मस्थललाई सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौं’, ओलीले लेखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका