जोडिनुहोस
  • होमपेज
  • आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने उल्लेख गरे ।

उनले देशमा आर्थिक संकटको कुरा चलिरहेका बेला सामाजिक सुरक्षा भत्ता कटौती नहुने बरु सरकारले मितव्ययी ढंगले काम गर्ने जानकारी दिए ।

उनले भने,‘अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकार गरेको छु । अब हाम्रो गन्तव्य कतातिर जान्छ, भन्नेबारेमा मैले निवेदन गरेको छु । कतिपयले यो गर्न सक्छौँ वा भन्छौँ मात्रै भनेर प्रश्न उठाउनुभएको छ । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

उनले यो आर्थिक वर्षमा जति राजस्व उठाउन सकिन्छ त्यति उठाउन नसकेको र पुँजीगत खर्चपनि न्यून भएको उल्लेख गरे ।

उनले भने,‘अवश्यपनि अहिले राजस्व घटेको छ, पुँजीगत खर्च कम छ, त्यसले आर्थिक वृद्धि हाम्रो लक्षअनुसार भएन, कम भयो । यो अवस्थामा कसरी अर्थतन्त्रलाई कसरी चलायमान गर्छौँ त ? अब हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्‍यो । हामीले स्विकार्नुपर्छ, हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा उदासीनता छ र अन्तिम समयमा गएर मात्र खर्च गर्ने परम्परा छ, पहिलो दिनदेखि नै त्यसलाई अन्त्य गर्नुपर्छ ।’

उनले बजेटको स्रोत जुटाउने ३ वटा स्रोत रहेको उल्लेख गरे । राजस्व, नेपालकै बैंकहरुबाट लिने ऋण, तेस्रोमा विदेशी अनुदान र ऋण रहेको उल्लेख गर्दै योभन्दा बाहेक बजेट निर्माणको स्रोत नभएको उल्लेख गरे । यो रकम प्रभावकारी ढंगले खर्च गरियो भने बजारमा पुँजी परिचालन हुने मन्त्री महतले बताए । सो पैसाले नै रोजगारी बढाउने, आम्दानी बढाउने र कृषि उत्पादन बढाउने उल्लेख गरे ।

आर्थिक गतिविधि कम भएका कारण नै राजस्वमा कमी भएको बताउँदै अब पुँजीगत खर्च प्रभावकारी बनाउने, मौद्रिक नीतिबाट समेत ब्याज घटाउने बित्तिकै राजस्वको आधार फराकिलो हुने उनले बताए । यो आधारबाट राजस्व बढाउने अवस्थामा पुग्ने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका