जोडिनुहोस
  • होमपेज
  • प्रभसिमरनको शतकमा पन्जाबको जित, दिल्ली बाहिरियो

प्रभसिमरनको शतकमा पन्जाबको जित, दिल्ली बाहिरियो

काठमाडौं । युवा ओपनर प्रसिमरन सिंहको शतकको सहयोगमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग(आइपीएल) २०२३ को ५९ औं खेलमा पराजित गरेको छ ।

यो जितसँगै लिगको छैटौं स्थानमा उक्लिएको पन्जाबले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा पन्जाब ३१ रनले विजयी भएको हो । पन्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले २७ बलमा १० चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ्स खेले ।

पहिलो विकेटका लागि अर्का ओपनर फिलिप साल्ट र वार्नरले ३८ बलमा ६९ रनको साझेदारी गरे ।

साल्टले १७ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । अमन खानले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए ।

प्रबिन दुवेले २० बलमा १६ रन बनाए । कुलदिप यादव १० रनमा अविजित रहँदा दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विना विकेट ६९ रन बनाएको दिल्लीले बाँकी ८ विकेट गुमाउँदा ६७ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि हरप्रित ब्रारले ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए । राहुल चहर र नाथन एलिसले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो ।

दोस्रो ओभरमा नै कप्तान शिखर धवनलाई व्यक्तिगत ७ रनमा गुमाएको पन्जाबका चौथो विकेटका लागि साम करनले सिंहसँग मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरे ।

करनले २४ बलमा २० रन बनाए । सिकन्दर राजाले ७ बलमा अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दिल्लीका लागि ईशान्त शर्माले २ तथा प्रबिन दुवे,अक्षर पटेल,कुलदिप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए।

जितसँगै बाह्र खेलमा ६ जित र ६ हारका साथ पन्जाब १० टोली सहभागी लिगको छैटौं स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ ।

समान १२ खेलमा ४ जित र ८ हारका साथ दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका