जोडिनुहोस
  • होमपेज
  • तीन दलका शीर्ष नेताको बैठकलाई लिएर रास्वपाको गम्भीर आशंका

तीन दलका शीर्ष नेताको बैठकलाई लिएर रास्वपाको गम्भीर आशंका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका छ ।

आइतबार साँझ बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने बताए । उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए ।

‘तीन दलका शीर्ष नेताहरू बसेर संसदलाई बन्दी बनाउन पाइँदैन । संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ ’, उनले भने, ‘तर तीन दल कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरूसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन । आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद् नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भए पनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरू अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका