जोडिनुहोस
  • होमपेज
  • नेप्सेको उकालो यात्रा कायमै, ७ दिनमा १४० अङ्कले बढ्यो

नेप्सेको उकालो यात्रा कायमै, ७ दिनमा १४० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि उत्साहजनकरुपले बढेको छ । यससँगै, नेप्सेको वृद्धि यात्रा निरन्तर सातौँ दिनसम्म कायम रहन सफल भएको छ । जेठ २ गतेदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक आजसम्म निरन्तर कायम रहेको हो ।

आज नेप्सेमा १६.४९ अंकको वृद्धि आएसँगै ७ दिनको अवधिमा १४०.८२ अंकको वृद्धि भएको छ । यो विगत लामो समययताको सबैभन्दा उत्कृष्ट वृद्धि हो । नेप्से परिसूचक अन्तिम पटक जेट १ गते ३.३३ अङ्कले घटेर १८०७ अङ्कमा पुगेको थियो । त्यसयता १४०.८२ अङ्कले बढ्दै आज परिसूचक १९५९ अङ्कमा पुगेर रोकिएको हो ।

नेप्से १६अङ्कले बढेको दिन आज १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ । यस क्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य समेत ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँमा पुगेको छ ।

नेप्से परिसूचक उत्साहजनकरुपमा वृद्धि भएको दिन आज १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम सिमेन्टको १४ करोड ६४ लाखको सेयर कारोबार भएको छ । परिसूचक बढे पनि आज तीन समूहमा भने गिरावट देखिएको छ ।

वित्त समूह ७ अङ्कले घट्दा म्यूचुअल फन्ड समूह ०.०३ अङ्कले घटेको छ । यस्तै, जलविद्युत समूहमा समेत ७ अंकको गिरावट आएको छ । आज सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक २२० अङ्कले बढेको छ । युनिलिभर नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्दा उत्पादनमूलक समूहमा उत्साहजनक वृद्धि आएको हो । यसपछि निर्जीवन बीमा समूहमा १२१ अंकको वृद्धि आएको छ भने जीवन बीमा समूहमा १२० अंकको सुधार आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका