जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको भारत भ्रमणः जेठ १८ मा मोदीसँग वार्ता, यस्तो छ तालिका

प्रधानमन्त्रीको भारत भ्रमणः जेठ १८ मा मोदीसँग वार्ता, यस्तो छ तालिका

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गतेदेखि छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रचण्डको भ्रमण मिति र कार्यतालिका तय गरेका हुन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन्। तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुने छ भने प्रधानमन्त्रीका रूपमा भारत भ्रमण भने चौथो हो।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन लागेको हो। अर्कातिर देशमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरण उत्कर्षमा रहेका समय यो भ्रमण हुन लागेको छ।

प्रचण्डको भारत भ्रमण तयारीकै बीच सरकारले लामो समयदेखि राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको तयारीसमेत थालेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो।

देशमा विकसित यी यावत घटनाक्रमका बीच हुन लागेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री प्रचण्डले आफ्नो यो भ्रमण ऐतिहासिक हुने बताएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रचण्ड जेठ १७ मा भारत प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्कनेछन्। त्यसबीच उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ। मोदीसँग जेठ १८ गते वार्ता हुने मन्त्रालयले जनाएको छ।

उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्। त्यसपछि दुई प्रधानमन्त्रीले लन्चसमेत गर्ने तालिका छ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल(भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।

त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डसँसँग भारतका अन्य विशिष्ट व्यक्तिले पनि भेट गर्नेछन्। यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्नेछन्।

भारतको विदेश मन्त्रालयले दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको जनाएको छ। यस भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महत्त्वलाई जोड दिएको उसले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका