जोडिनुहोस
  • होमपेज
  • गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुनेछैन : प्रधानमन्त्री दाहाल

गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुनेछैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रविरुद्ध वितृष्णा छर्ने प्रयासहरु कदापी सफल नहुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र भएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् ।’

प्रधानमन्त्री दाहालले गणतन्त्रलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट आज देशको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनु गौरवको विषय हो । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयौं चुनौती देखिएपनि हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौF । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अंगिकार गरिएको छ । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको उनको भनाई छ । लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भए तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका