जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेतृ तथा पुर्वराज्‍यमन्त्री मीना पाण्डेको निधन

कांग्रेस नेतृ तथा पुर्वराज्‍यमन्त्री मीना पाण्डेको निधन

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ ।

वि.सं. २००८ सालमा जन्मएकी स्वर्गीय पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी उनी वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभासदस्य थिइन् भने वि.सं. २०६४ मा संविधान सभा सदस्य भएकी थिइन् ।

साथै उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक सभापति भइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका क्रममा उनले पटक–पटक जेल जीवन बसेकी थिइन् । उनको निधनबाट एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसलेले जनाएको छ ।

स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै पार्टीले जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको छ ।

यस्तै जेठ १७ गते बुधबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका