जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड आजदेखि चार दिने औपचारिक भारत भ्रमणमा जादै

प्रधानमन्त्री प्रचण्ड आजदेखि चार दिने औपचारिक भारत भ्रमणमा जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भारत भ्रमण गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले आजदेखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन् । उनीसँग भ्रमणमा नेपाल सरकारका पाँच मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका