जोडिनुहोस

देश

मलेसियामाथि नेपालको जित

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ १८, २०८०
मलेसियामाथि नेपालको जित

काठमाडौं । घरेलु टोली मलेसियामाथि पाहुना टोली नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित हासिल गरेको छ । बिहिबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो ।

जितसँगै नेपालले तीन खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ । नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाईन् । विनिफ्रेड दुराईसिंघमले ३८ बलमा २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सिताराना मगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाईन् । नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत ३ रनमा ओपनर कविता कुवँरलाई गुमाएको थियो ।

तर, दोस्रो विकेटका लागि ज्योती पान्डे र सिताराना मगरबीच ३५ रनको साझेदारीसँगै नेपाल बलियो योगफल तर्फ प्रेरित भएको थियो ।

सिताले ३५ बलमा २१ रन बनाउँदा ज्योतीले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । तेस्रो विकेटका लागि सिताराना मगर र ईन्दु बर्माबीचमा ३२ रनको साझेदारी भएसँगै नेपाल बलियो योगफल तर्फ लम्किएको थियो ।

बर्माले ३० बलमा २० रन बनाईन् । इन्दु र कप्तान रुबिना क्षेत्रीका बीचमा तेस्रो विकेटका लागि २१ बलमा २९ रनको साझेदारी गरे । बिन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए । मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका