जोडिनुहोस
  • होमपेज
  • भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्‍यो

भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्‍यो

विराटनगर । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर बिहीबार आइपुगेको हो ।

नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वेको उद्घाटन गरेका थिए ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको उक्त कार्गो रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याइएको छ ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटनअघि बुधबार पनि परीक्षण गरिएको थियो ।

उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने तत्काल सञ्चालन हुने छैन ।

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ।बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ। करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण काम हुनसकेको छैन।

बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो। दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन। विभागका प्रवक्ता चित्रकारका अनुसार जग्गा प्राप्ति विवादका कारण कटहरीको हुलाकी राजमार्गबाट उत्तर.तर्फको काम अघि बढेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका