जोडिनुहोस
  • होमपेज
  • नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतलाई नेपालको ‘घनिष्ठ छिमेकी’ को संज्ञा दिए ।

पत्रकार सम्मेलनमा उनले भारतीय समकक्षी मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । ‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको छु, म उहाँको स्वागतका लागि उत्सुक छु,’ उनले भने ।

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र ‘बहुआयामिक’ रहेको पनि बताए । मोदीको नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यको विकास देखेर आफूहरू खुसी भएको उनको भनाइ थियो । उनले भने, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखेर खुसी छौँ ।’

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्रीका रूपमा ९ वर्ष पूरा गरेकोमा बधाई समेत दिए । उनले दुई देशबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धको समृद्ध परम्पराद्वारा निर्मित ठोस धरातलमा टिकेको चर्चा गरे ।

उनले भारतीय समकक्षी मोदीको ‘छिमेकी पहिले’ नीतिको प्रशंसासमेत गरे । भेटवार्ताका क्रममा आफूले दुई देशबीच सहयोग अझ मजबुत बनाउने विषयमा छलफल गरेको पनि उनले बताए ।

भारतीय समकक्षीसँगको भेटवार्तामा पारवहन, लगानी, विद्युत्, व्यापार, सिँचाइ, कृषि, हवाई प्रवेश मार्ग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए । उनले दुई पक्षीय कूटनीतिक संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग चर्चा गरेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका